११ कार्तिक २०८१, आइतबार 1730074673
Banner

सिआईबीको अनुसन्धान प्रभावित नहुने गरी समाधान खोज्न सरकार सकारात्मकः लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्रप्रसाद लिङदेनले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को अनुसन्धान प्रभावित नहुनेगरी समाधान खोज्न सत्तापक्ष सकारात्मक भएको बताएका छन् ।

आज (आईतवार) प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाउनुभएको सर्वदलीय बैठकमा सहभागी भइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकार र प्रतिपक्षबीच छलफल सकारात्मक भएको बताए ।

उनले सोमवार पुनः सर्वदलीय बैठक बस्ने र संसद अवरोध अन्त्य गर्ने निस्कर्ष निस्किने बताए । उनले सरकार पक्ष पनि लचिलो हुने र प्रमुख प्रतिपक्ष पनि लचिलो भएर जाने कुरा सहमति नजिक पुगेको भन्दै अनुसन्धान प्रभावित नहुने गरी उच्चस्तरीय संयन्त्र बन्नसक्ने बताए ।

उनले भने, ‘संसद अवरुद्ध अटाउने सम्बन्धमा प्रधानमन्त्रीले आज सर्वदलीय बैठक बोलाउनु भयो । छलफल सहमतिको नजिक पुगेको छ । भोलि फेरि बैठक बस्छ र संसदको अवरोधको अन्त्य गर्ने निस्कर्ष निस्किन्छ । बीचको बाटो निकाल्ने भन्ने छ । सरकार र प्रमुख प्रतिपक्ष लचिलो भएको छ । अहिले भइरहेको अनुसन्धान पनि प्रभावित नगर्ने र प्रतिपक्षको मागलाई पनि सम्बोधन गरेर जाने बाटो हुनसक्छ ।’