काठमाडौं । संसद् गतिरोध अन्त्य गर्नका लागि आज पनि सर्वदलीय बैठक बोलाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा हिजो बसेको बैठकमा सहमति जुट्न नसके पछि आज पनि बैठक बोलाइएको हो । बैठक दिउँसो ४ बजे बस्नेछ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने माग गर्दै निरन्तर संसद् अवरोध गरिरहेको छ । तर, सरकारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले छानबिन गरेर टुंग्याउने भन्दै प्रतिपक्षी दलको माग तत्काल पुरा गर्न नसकिने जनाउँदै आएको छ ।
सरकार र प्रतिपक्षी दुवै दल आ आफ्ना अडानमा कायमै राखेपछि साउन १० गते देखी संसद् चल्न सकेको छैन । हिजो बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नआएपछि सामान्य छलफल गरेर आजका लागि बैठक बोलाइएको हो ।
संसद् खुलाउने विषयमा सम्पूर्ण दल एकमत रहेको र यसबारेमा प्रमुख प्रतिपक्षी दलका नेता ओलीसँग छलफल गरेर निचोडमा पुग्न आज पुनः बैठक बस्न लागेको छ ।