२७ भदौ २०८३, शनिबार 1789242716
Banner

कोशी प्रदेशको सरकार असंवैधानिक: हिक्मत कार्की

काठमाडौं । कोशी प्रदेशमा सभाध्यक्षको भूमिकामा रहेका इस्राइल मन्सुरीले मुख्यमन्त्री उद्धव थापाको पक्षमा मतदान गरेपछि नेकपा एमालेले त्यसको कानूनी उपचार खोज्ने भएको छ।

सोमबार कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत लिएपछि एमालेले अदालत जाने तयारी गरेको छ।

नेकपा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले यो सरकार वैधानिक नभएको बताउनु भयो। उहाँले भन्नुभयो, ‘हामी यसको राजनीतिक र कानुनी उपचार खोज्छौँ । गठबन्धनले बारम्बार संविधान विरोधी काम गरिरहेको छ।’

प्रदेशसभाको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले गीता तिमल्सिनालाई बैठकको अध्यक्षता गराएर मुख्यमन्त्रीलाई विश्वासको मत दिन गएपछि लफडा भएको थियो । मत विभाजन हुँदै गरेको बेला सभामुख परिवर्तन गरी मन्सुरीले विश्वासको मत दिएका हुन् ।

अध्यक्षता गर्ने ब्यक्ति परिवर्तन गरेर मतदान गरेपछि मुख्यमन्त्री थापाको पक्षमा ४७ मत पुगेको छ। कोशीमा यो बहुमत संख्या हो । बिपक्षमा ३० मत परेको छ।