२३ आश्विन २०८१, बुधबार 1728503650
Banner

धरानको द्वन्द्वः जिम्मेवार प्रधानमन्त्री प्रचण्ड

“राजनीतिमा बढ्दो अवसरवाद र समाजमा चुलिंदो स्वछन्दता र अराजकताले अन्ततः समाजलाई अतिवादको बाटोमा लैजान्छ र नागरिकमा व्यक्तिवादी प्रवृत्ति मौलाउँछ।”

यो मेरो आरोप होइन, घटनाक्रम र तथ्यहरूले भनेको यथार्थ हो। द्वन्द्वमार्फत प्रचण्डले खोजेको राजनीतिक प्रगति धरान उपमहानगरपालिकामा प्रकट भएको हो। अहिले धरानका मेयर हर्क साम्पाङले त्यसलाई मलजल गरिरहेको उनका स्वछन्द र अराजक अभिव्यक्ति र गतिविधिहरूले पुष्टी गर्दैछ। अनि जनतामा पनि जे गरेपनि हुन्छ भन्ने मनोभावनाको विकास हुनुमा प्रचण्ड र हर्कको प्रत्यक्ष तथा अप्रत्यक्ष योगदान देखिन्छ ।

अतिवाद सधैं घातक हुन्छ, चाहे त्यो गोरू काटेर खाने काम होस् कि त्यसको विरोध र समर्थनमा राजनीति गरेर देशमा अराजकता सिर्जना गर्न खोज्ने। बरूँ यतिबेला राष्ट्रिय जनावर गाई बनाउनु पछाडिको वैज्ञानिक कारणका बारेमा चर्चा गरेर जनतालाई त्यसको महत्त्व बुझाउन पर्छ नकि जातीय तथा धार्मिक द्वन्द्वको राजनीति गरेर समाजलाई सामाजिक बनाउने। हामीले बुझ्नुपर्छ, “जातीय, क्षेत्रीय र धार्मिक जगमा गरिने राजनीति सधैं घातक नै हुन्छ ”

धरान उपमाहानगरपालिकामा देखिएको अराजकताको जड पत्ता लगाउनु पर्ने भएको छ। आज धरानमा देखिएको द्वन्द्वको जड बुझ्नका लागि हामीले उतिबेला प्रचण्डले रोपेको जातीय र क्षेत्रीय अतिवादको बीउ अनि यतिबेला स्वतन्त्र जनप्रतिनिधिका नाममा धरानका मेयर हर्क साम्पाङको स्वछन्दता र अराजकतालाई चिन्न सक्नुपर्छ। प्रधानमन्त्री प्रचण्ड र मेयर हर्क साम्पाङमार्फत समाजमा कानुन नमान्ने प्रवृत्ति बढ्दैछ, वास्तवमा यो प्रवृत्ति परिवर्तन होइन भन्ने कुरा हामीले बुझ्नुपर्छ। तर हर्कको जीतलाई राजनीतिक विश्लेषकहरूले परिवर्तनको संकेत भनेका थिए, जुन आज धरानको अप्रिय घट्नाले ठीक होइन भन्ने प्रमाणित गरेको छ।

आज प्रचण्डको अराजक प्रवृत्तिको राजनीति र हर्कको स्वछन्द कार्यशैलीको फ्युजन भएर धरानमा अतिवादले हुर्कियो र खुला रूपमा कानुन नमान्ने जमात त्यहाँ देखियो। यो खालको प्रवृत्तिले समाजमा द्वन्द्वको स्थिति विकास हुँदैछ। हिजो गोरूको मासु खाएको श्रव्यदृश्य भाइरल गराएर रमाउने जमात होस् कि त्यसको विरूद्धमा आज गेरूवस्त्र लगाएर आन्दोलन गर्छौं भन्नेहरू दुबै पक्षलाई कानुनसम्मत तरिकाबाट राज्यले कुरो बुझाउने र नमान्नेलाई दण्डित गर्नुपर्छ। अतिवाद कुनैपनि मुल्यमा स्वीकार्य हुनै सक्दैन्। तर यतिबेला अचम्मको संयोग बनेको छ, एउटा अतिवाद प्रधानमन्त्री पदमा प्रचण्ड कायम छन् भने अर्को अतिवाद मेयरको रूपमा हर्क साम्पाङ क्रियाशील भइरहेका छन्। जसले धरानका जनतालाई भ्रमित बनाएर भावनात्मक रूपमा भड्काउने काम गरिरहेको छ।

हाम्रो समाजको चरित्रले विविधता र अनेकतामा एकता अनि सहअस्तित्व र सहकार्य स्वीकारेको छ। त्यही बुझेर हामीले राजनीतिक गतिविधि गर्दै धर्म र राजनीतिलाई चिन्न सक्नुपर्छ। धर्मलाई राजनीतिक मुद्दा बनाउने होइन, राजनीतिमा राजनीतिक धर्म हो भन्ने कुरा बुझ्नुपर्छ। यो क्षमताको विकास अनिवार्य भएको छ। आज त्यही क्षमताको अभावमा धरानमा अतिवादीहरू विभिन्न रूपमा देखिएको छन्। तिनको पर्दाफास र भण्डाफोर गरिनुपर्छ।

गेरूवस्त्र लगाएर लेख्दैमा, बोल्दैमा वा हिंड्दैमा त्यो धार्मिक वा सनातनी हुँदैन् किनभने सनातनी हुनका लागि व्यक्तिमा सहिष्णु हुने बुद्धिमत्ता हुनुपर्छ अनि सबैखाले अतिवादको तिरस्कार र धर्मको नाममा राजनीति गर्नेलाई बहिष्कार गर्छ। धर्मले तेरो मेरो, उचनिच कतै भन्दैन्, हामीभन्ने भावना बोक्नुपर्छ भन्छ। त्यसैले मूर्ख नबनौं यतिखेर एउटा वर्ग गेरूवस्त्र लगाएर त अर्को जनतालाई भ्रममा पार्न घण्टी बजाएर भावनात्मक रूपमा भड्काउने राजनीति गर्दैछ। यसले सामाजमा स्वछन्दता र अराजकतासँगै अतिवाद जन्माउँदैछ। प्रमाण धरानको द्वन्द्व हो । त्यसैले सामाजिक सञ्जालबाट ठीक सूचना दिएर सामाजिक सदभाव, एकता र सहकार्य गर्ने वातावरण कायम राख्न आफ्ना क्षमताको प्रयोग गरौं।