१२ कार्तिक २०८१, सोमबार 1730124819
Banner

प्रतिनिधिसभाअन्तर्गत १० विषयगत समितिमा क कस्ले दिए सभापतिमा उमेदवारी ? (तस्बिरहरू)

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत १० विषयगत समिति सभापतिका लागि आइतबार उमेदवारी दर्ता भएको छ । सिंहदरबारस्थित प्रतिनिधिसभा सचिवालयको कार्यकक्षमा उमेदवारी दर्ता गराइएको हो । नेपाली कांग्रेसकी सांसद आरजु राणा देउवाले प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा उम्मेदवारी दिएकी छन् ।

आइतबार संघीय संसद् सचिवालयमा गएर उनले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । त्यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा कांग्रेस सांसद रामहरि खतिवडाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै लेखा समितिको सभापतिमा नेकपा (एमाले)का ऋषिकेश पोखरेल, महिला समितिको सभापतिमा पनि एमालेका किरणकुमार साहको उमेदवारी परेको छ ।

हालसम्म उद्योग, वाणिज्य तथा श्रम उपभोक्त हित समितिको सभापतिमा जनमत पार्टीबाट उमेदवारी परेको छ । पार्टीबाट पूर्वखानेपानीमन्त्री अब्दुल खानले उमेदवारी दर्ता गराएका छन् ।

यस्तै, स्वास्थ तथा शिक्षा समितिको सभापतिमा नेकपा (एकीकृत समाजवादी)का भानुभक्त जोशीले उमेदवारी दर्ता गराएका छन् । पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहको उमेदवारी परेको छ ।

दलहरूले भागबण्डा गरेर समिति सभापतिका लागि उमेदवारी दर्ता गराएका हुन् । कानुन, न्याय तथा मानवअधिकारको सभापतिमा नेकपा (माओवादी केन्द्र)की बिमला सुवेदी दर्ता गराएका छन् ।

प्रमुख दलहरुले प्रतिनिधिसभाका १० र संघीय संसद्का २ वटा संयुक्त गरी १२ वटा समितिको नेतृत्व भागबन्डा गरेका थिए । जस अनुसार कांग्रेसले ४, एमालेले ३, माओवादीले २, जसपा, एकीकृत समाजवादी र जनमत पार्टीले एक एक वटा समितिको नेतृत्व लिने सहमति भएको थियो ।