काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म पास हुन नसक्ने बताएका छन् ।
बुधबार काठमाडौंमा टुरिस्ट बस एशोसिएशन अफ नेपालले आयोजना गरेको ‘टुरिस्ट बस नेपाल’ एप्स शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री किराँतीले पर्यटन बोर्डको बजेट नसच्चिएसम्म हतारमा पास गर्न नसकिने बताए ।
उनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा।धनञ्जय रेग्मीप्रति लक्षित गर्दै बोर्डको बजेट कमिसनको दुनो सोझाउनको लागि तत्काल आउन नसक्ने बताए ।
उनले भौतिक संरचना बनाउने काम पर्यटन बोर्डको नभएको बताए । उनले पर्यटन क्षेत्रको विकासको लागि भौतिक संरचना निर्माण गर्ने पर्यटन विभाग रहेको भन्दै बोर्डले पर्यटनको प्रवर्द्धन गर्ने रहेको बताए ।
मन्त्री किराँतीले बोर्डको बजेटमार्फत भौतिक संरचनामा बजेट छुट्याएर ५ देखि १० प्रतिशत कमिसनमा बस्ने जमानाको अन्त्य भएको बताए । उनले आफू मन्त्रालयमा रहेसम्म भौतिक संरचना हुने कमिसनको खेल शुन्य बनाएर छाड्ने बताए ।
मन्त्री किराँतीले पर्यटनक बोर्डले पर्यटक ल्याउने नाममा ८० देखि ९० करोड रकम युरोप भ्रमणमा खर्च गर्न नपाउने बताए । उनले दुई छिमेकी राष्ट्रको जनसंख्या १३ अर्ब र अर्कोको डेढ अर्ब रहेको भन्दै पर्यटन प्रवर्द्धनको लागि चीन र भारतमा आधा बजेट खर्च गर्नुपर्ने आवश्कयता रहेको बताए ।