काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालका सबै कम्युनिष्टहरु एक हुनुपर्ने बताएका छन् ।
आइतबार हेटौंडामा समाजवादी मोर्चाले गरेको प्रदेशस्तरीय सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘हामी सबै कम्युनिष्टले पटकपटक फुट्दा कति समस्या हुन्छ भन्ने बुझिसक्यौं । अब एक(अर्कालाई तिरस्कार, वहिष्कार नभई सत्कार गरेर कम्युनिष्ट एकता गर्नुपर्छ’, प्रचण्डको भनाइ थियो ।
फुट्दा र जुट्दाको दुवै अनुभवलाई लिएर अब नयाँ क्रान्ति सुरू गर्नुपर्ने उनले बताए । सरकारले अहिले सुशासनको लागि भ्रष्टाचार, अनियमितताको अन्त्य गर्ने अभियान सुरू गरेको बताउँदै उनले आफ्नो अभियानबाट केही प्रतिगामी तर्सिएको जिकिर गरे ।
‘प्रधानमन्त्रीले राम्रो काम गर्न खोज्दा अदालतमा मुद्दा हाल्ने काम भयो । यस्ता खाले समस्या समाधान गर्न सरकार डटेर लाग्छ’, प्रधानमन्त्रीले भने ।
आफ्नो चीन र अमेरिकाको भ्रमणको तयारी उत्साहजनक भएको भन्दै उनले अब देश समाजवाद दिशामा अघि बढेको दाबी गरे ।