१० कार्तिक २०८१, शनिबार 1730001887
Banner

चिकित्सकमाथि कुटपिट गर्ने घटनामा संलग्न पक्राउ

काठमाडौं । हेटौंडास्थित सञ्चो हस्पिटलका चिकित्सकमाथि कुटपिट गर्ने घटनामा संलग्‍न चारजना पक्राउ परेका छन् ।

कुटपिटमा संलग्न मृतककी श्रीमती रमा प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिजा अनुप प्रधानलाई प्रहरीले पक्राउ गरेको हो ।

चौतर्फी दबाबसँगै चिकित्सकहरूले आन्दोलनको घोषणा गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

बुधबार हेटौंडा–१ स्थित सञ्चो हस्पिटलका डाक्टरहरु विकास थापा र प्रशान्त विडारीमाथि बिरामी हेरिरहेकै समयमा सांघातिक आक्रमण भएको थियो ।

चिकित्सक कुटपिटमा संलग्नलाई कारबाहीको माग राख्दै मकवानपुरका चिकित्सक, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले सामूहिकरुपमा प्रहरीमा उजुरी दर्ता गराउने भएको छ ।

स्थानीय प्रशासन र प्रहरीबाट सुरक्षाको प्रत्याभूति नभएका कारण सांघातिक आक्रमणमा परेका चिकित्सकले प्रहरीमा उजुरी दर्ता गर्ने अवस्था नभएपछि सामूहिकरुपमा उजुरी दर्ता गरिने भएको हो ।

बुधबार बिहान हेटौंडा–१ स्थित सञ्चो हस्पिटलका डा. विकास थापा र डा. प्रशान्त विडारीमाथि एक समूहले सांघातिक आक्रमण गरेका थिए । डाक्टरमाथि आक्रमण गर्ने समूहले बिरामीका कुरुवालाई समेत कुटपिट गरेका थिए ।

Tags :