१४ श्रावण २०८३, बिहिबार 1785418755
Banner

बिरामीको मृत्युपछि मणिपाल शिक्षण अस्पताल तनावग्रस्त

काठमाडौं । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पताल तनावग्रस्त बनेको छ। असहज महसुस भएपछि आज बिहान अस्पताल पुगेकी लमजुङकी ५७ वर्षीया सुकमाया दुराको मृत्यु भएपछि आफन्तजन आक्रोशित बनेका छन्।

उनीहरूले उपचारका क्रममा बिरामीको अवस्थाबारे कुनै जानकारी नदिइएको र अस्पतालकै लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्। उपचारमा संलग्न चिकित्सकमाथि नै हातपात हुन थालेपछि अस्पतालमा प्रहरीले सुरक्षा दिएको छ।

आक्रोशित भीडले अस्पतालको ढोकाको सिसासमेत फुटाएको प्रहरीले जनाएको छ। चिकित्सकमाथि हातपात भएको भन्दै स्वास्थ्यकर्मीले पनि विरोध जनाइरहेका छन्।