१४ असार २०८३, आइतबार 1782656159
Banner

डाक्टर कुट्नेलाई कारबाही गर्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले डाक्टरहरुमाथि निरन्तर भएको दुर्व्यवहार, आक्रमण र तोडफोडप्रति निन्दा गर्दै दोषीलाई तत्काल कारबाही गर्न माग गरेको छ ।

नेकपा एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठले बुधबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

‘विभिन्न जोखिम मोलेर बिरामीको सेवामा जुटिरहेका चिकित्सक लगायत स्वास्थ्यकर्मीलाई श्रृंखलाबद्ध सांघातिक हमला हुनुमा प्रशासन नै जिम्मेवार छ’, श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न बहानामा प्रशासनबाट कुनै कारबाही नहुने भएपछि अपराधीको मनोबल स्वतः बढ्ने नै भयो ।’

एमालेले स्वास्थ्यकर्मीहरू माथि यस्तो प्रकृतिका सांघातिक हमला भएको पहिलो नभई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा, कञ्चनपुर, लमजुङ, चितवन, मणिपाल अस्पताल पोखरा, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायत देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा निरन्तर सांघातिक हमला भइरहेको र गृह प्रशासनले दोषीहरूलाई कानुनी कारबाही गर्नुको बदला संरक्षण दिने काम गरेको आरोप लगाएको छ ।