२३ आश्विन २०८१, बुधबार 1728496232
राजनीति

कांग्रेस सङ्खुवासभाका सभापतिद्वारा राजीनामा

काठमाडौं-नेपाली कांग्रेस सङ्खुवासभाका सभापति दीपक खड्काले पदबाट राजीनामा दिनुभएको छ। कांग्रेसको १४औँ महाधिवेशनबाट भारी मतका साथ जिल्ला सभापति पदमा निर्वाचित खड्काले आज (बुधबार) राजीनामा दिनुभएको हो।

खड्काले पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत केन्द्रीय सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाउनुभएको हो। विसं २०७९ मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सङ्खुवासभाबाट निर्वाचित खड्काले प्रतिनिधिसभा सदस्य भएपछि काठमाडौँमा धेरै समय बिताउनुपर्ने र जिल्लाको पार्टी सङ्गठनलाई पर्याप्त समय दिन नसकेको भन्दै राजीनामा दिनुभएको हो।

“सङ्खुवासभामा वि.सं. २०७० र २०७९ सालको निर्वाचनमा कांग्रेसलाई विजयी बनाएको र आगामी दिनमा पनि कांग्रेसको सङ्गठनलाई मजबुद बनाउन जिल्लामा रहेका साथीहरूलाई काम गर्ने वातावरण निर्माण गर्न सभापति पदबाट राजीनामा दिएको हुँ”, उहाँले भन्नुभयो।

नेता खड्काले आफू जिल्ला सभापति पदमा नरहे पनि अब बन्ने सभापतिलाई सहयोग गर्दै पार्टी र जनाताको काममा क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।