२ आश्विन २०८१, बुधबार 1726714662
Banner

नेपालद्वारा पिएनजीसामू १ सय ६९ रनको लक्ष्य प्रस्तुत

काठमाडौँ । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको फाइनल खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १६९ रनको विजयी लक्ष्य दिएको छ । कीर्तिपुर स्थित टियु मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६८ रन बनाएको हो ।

नेपालका लागि मध्यक्रमका बट्सम्यान दीपेन्द्रसिंह ऐरीले ५४ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । उहाँले ३८ बलमा पाँच चौकाको सहयोगमा अविजित उक्त रन बनाउनुभएको हो । करण केसीले अविजित ३३, ओपनरद्वय आशिफ शेखले २९ र कुशल भुर्तेलले २५ रन बनाउनुभयो । आदिल अन्सारीले १५ रन जोड्नुभयो । रोहित पौडेलले दुई तथा आरिफ शेख र दिलीप नाथ शुन्य रनमा आउट हुनुभयो ।

बलिङमा पीएनजीका सेमो कामेअले तीन, कवुअ मोरेया, रिले हेकुरे र चाद सोपरले एक एक विकेट लिनुभयो । नेपाल सिरिजमा अपराजित रहँदै उपाधि जित्ने लक्ष्यमा छ । उता पीएनजी पनि नेपाललाई हराएर दोहोरो उपाधि घर लैजाने अभियानमा छ। टी–२० सिरिजअघि नेपालविरुद्ध दुई खेलको एकदीवसीय सिरिजमा पीएनजीले क्लीन स्वीप गरेको थियो । तर टी–२० सिरिजको लिगका दुईवटै खेलमा पीएनजी नेपालसँग पराजित भएको थियो ।