१० कार्तिक २०८१, शनिबार 1729937953
Banner

राष्ट्रपति रामचन्द्र पौडेलले अवलोकन गरे इन्द्रजात्रा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्रा अवलोकन गरेका छन् ।

सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राको अवलोकनका लागि राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठकसम्म पुगेका थिए ।

यसअघिका राष्ट्रपति र राजा गद्दी बैठकअघिसम्म नै गाडीमा जाने गर्थे । जात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायत मन्त्री, सांसद, प्रदेशसभा सदस्य, काठमाडौं महानगरका मेयर बालेन शाह, उपमेयर सुनिता डंगोल गद्दी बैठकसम्म गएका थिए ।

असोज १५ गते सोमबार राति ८ः३७ बजे इन्द्रध्वज पातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । पातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित बागमती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेश लगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ ।

इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेका थिए । उपत्यकामा मनाइनेमध्ये यो लामो जात्रा हो ।

वर्षा र सहकालका देवताका रुपमा पूजिने इन्द्रको आज विधिपूर्वक पूजा आज पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाच लगायत, महाकाली नाच, रामचन्द्र नाच, पुलुकिसी नाचलगायत सांस्कृतिक झाँकी, नाचगान हुने गर्छ । यस पर्वका अवसरमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।