७ मंसिर २०८१, शुक्रबार 1732331194
Banner

नेकपा (एमाले)को कोशी प्रथम अधिवेशनको तयारी पूरा

काठमाडौं । नेकपा (एमाले)को कोशी प्रथम अधिवेशनको तयारी पूरा भएको छ ।

अधिवेशन आयोजक मूल समितिले विराटनगरमा पत्रकार सम्मेलन गरी तयारी पूरा भएको जानकारी दिएको हो ।

प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपानेले मनोनीतबाहेकका प्रतिनिधि छनोटको कार्य पूरा भएको बताए ।
‘भोलि उद्घाटन हुँदै छ । दुई दिनसम्म चल्नेछ । उद्घाटन पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नु हुनेछ,” उनले भने, “स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरु सहभागी हुनुहुनेछ । सम्पर्क मञ्च र कमिटीबाट पनि आमन्त्रण गरिएको छ ।’
अधिवेशनमा १३७ पालिका, २३ जनवर्गीय संगठन, दलित, मजदुर समेत गरी एक हजार ४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने न्यौपानेले बताए । प्रदेश संगठन र तदर्थ हुँदै प्रदेश कमिटी बनेका थिए । निर्वाचन र मिसन ग्यास रुट जस्ता कार्यक्रमले केही पछि सरेको थियो ।

अधिवेशनले पार्टीको आन्तरिक जीवन व्यवस्थित गर्ने र मुलुकको समस्या समाधान पहल गर्ने पार्टीका प्रदेश इन्चार्ज रघुवीर महासेठले बताए ।‌ अधिवेशमा प्रदेश कमिटीको तर्फबाट वस्तुनिष्ठ समीक्षा, एमालेका भावि योजना तथा कार्यदिशा तय गर्ने बताइएको छ ।

अधिवेशन सम्पन्न गर्न मूल व्यवस्थापन समिति, अनुगमन निर्देशन समिति र १२ वटा उपसमिति बनेका छन् । कार्यक्रममा दिइएको जानकारीअनुसार ९९७ प्रतिनिधि चयन भए पनि त्यसको पाँच प्रतिशत प्रतिनिधि चयन हुन सकेको छैन ।