९ कार्तिक २०८१, शुक्रबार 1729916089
Banner

न्यायालयलाई गठबन्धनको विभागजस्तो बनाउन खोजिँदैछ, त्यसो हुन दिइने छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले न्यायपालिकालाई आफ्नो विभागजस्तो बनाउन खोजेको आरोप लगाउँदै न्यायालयलाई त्यसो हुन नदिने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा आफ्ना धारणा राख्ने क्रममा उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

‘तपाईहरुले न्यायापालिकालाई स्वतन्त्र न्यायपालिका रहन नदिएर गठबन्धनको विभाग बनाउन खोज्या होला सम्भव छैन, हामी पनि छौं यो देशमा’, ओलीले भने, ‘हामी न्यायालयलाई स्वतन्त्र सम्मानित मर्यादित न्यायापालिकाको रुपमा राख्न चाहन्छौं तपाईंहरुको विभाग बनाउन दिँदैनौं ।’

जिल्ला न्यायाधीशको परीक्षामा फेल भएका र गत निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने व्यक्ति न्यायाधीश नियुक्त भएका छन् ।

त्यस्तै आफूविरुद्धको संसद विघटनको मुद्दामा बहस गर्ने वकिललाई पनि न्यायाधीश बनाएको ओलीले आरोप लगाए ।

‘मेरा विरुद्धको मुद्दामा उफ्री उफ्री बहस गर्ने फर्मका सहयोगी वकिललाई न्यायाधीश बनाउनुपर्ने रहेछ । एक वर्ष हुन आँट्यो निर्वाचनको गुन अझै सम्झिरहेको रहेछ’, ओलीले न्यायाधीश नियुक्तिबारे टिप्पणी गरे ।