९ कार्तिक २०८१, शुक्रबार 1729916458
Banner

भारतको कर्नाटकमा आगलागी हुँदा चौध जनाको मृत्यु

काठमाडौं । भारतको दक्षिणी राज्य कर्नाटकस्थित पटका पसलमा आइतबार आगलागी हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । उक्त घटनामा कैयौँ व्यक्ति घाइते भएको स्थानीय प्रहरीले जनाएको छ । कर्नाटक राज्यको राजधानी बेङ्गलोरको एटिबेल क्षेत्रमा आगलागी भएको र घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा अधिकांश पसलका कर्मचारी रहेकोसमेत प्रहरीले जानकारी गराएको छ ।

पसल मालिक तथा जग्गा मालिकलाई अग्नि सुरक्षा मापदण्ड पूरा नगरेको आरोप लागेको छ । “प्रारम्भिक अनुसन्धानमा घटनापछि प्रहरी हिरासतमा रहेका पसल मालिकको लापरबाहीका कारण उक्त दुःखद् दुर्घटना भएको देखिन्छ”, मुख्यमन्त्री सिद्धारमैहाले पत्रकार सम्मेलनमा बताउनुभयो । उहाँले दुर्घटनास्थलको भ्रमणपछि सञ्चारकर्मीसँग भन्नुभयो, “वास्तवमा के भएको थियो हामीलाई थाहा छैन, तथापि, हामीलाई पसलमा आवश्यक कुनै सुरक्षा मापदण्ड अपनाइएको थिएन भन्ने जानकारी मिलेको छ । पसलको हालसालै अनुमतिपत्र नवीकरण गरिएको छ । पसलमा आगो निभाउने यन्त्र फेला परेको छैन । यो पसल मालिकको पूर्ण लापरबाही हो ।” घटनाको अनुसन्धान गर्न सीआईडीलाई आग्रह गरिएको पनि उहाँले जानकारी गराउनुभयो । मृतकमध्ये केहीको सनाखत हुन बाँकी रहेको पनि उहाँले बताउनुभयो । “घटनामा १४ जनाको मृत्यु भएको छ र ती सबै तमिलनाडूका हुन्, तीमध्ये अधिकांश विद्यार्थी छन् ।

उनीहरू आफ्नो शिक्षाका लागि पैसा कमाउन यहाँ काम गरिरहेका थिए्,” मुख्यमन्त्री सिद्धारमैहाले भन्नुभयो । कर्नाटकका उपमुख्यमन्त्री डीके शिवकुमारले पनि आइतबार घटनास्थलको निरीक्षण गर्नुभएको छ । मृतकका आफन्तजनलाई राहतस्वरूप जनही पाँच लाख भारतीय रुपैयाँ दिने राज्य सरकारले यसपहिले नै घोषणा गरेको छ ।