२८ भदौ २०८३, आइतबार 1789339168
Banner

सकियो, नवजात शिशु बिक्री कसुरको मुद्दाको बयान, आज धुनछेक बहस

काठमाडौं । नवजात शिशु बिक्री गरेको कसुरको मुद्दाको बयान सकिएको छ ।

विराटनगरस्थित ग्रीनक्रस अस्पतालका डाक्टर तपेश्वरलाल कर्णसहित ६ जना प्रतिवादीको बयान मोरङ जिल्ला अदालतका न्यायाधीश अम्बिका प्रसाद दाहालको इजालशमा सकिएको हो ।

वादी र प्रतिवादीको पैरवी सकिएपछि अदालतले प्रतिवादीहरुको हकमा पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा छोड्ने वा साधारण तारेखमा छोडिदिनेमध्ये एउटा आदेश दिनेछ ।

सरकारी वकिलको कार्यालयले ग्रीनक्रस अस्पतालमा कार्यरत डाक्टर कर्णसहित ३३ वर्षीय सरसफाइकर्मी सुधा राजवंशी, कटहरी गाउँपालिका–२ की ४६ वर्षीय दिलमनी राजवंशी, ३० वर्षीय सूर्यनारायण राजवंशी, सिराहाको कल्याणपुर नगरपालिका–१२ की ३८ वर्षीय नर्स निर्मला यादव, शिशुका बाबु भोजपुरको हतुवागढी गाउँपालिका–४ घर भएका २७ वर्षीय गोविन्द राईलाई प्रतिवादी बनाएको छ ।

उनीहरूलाई तीन वटा मुद्दामा संयुक्त रूपमा १५ देखि २० वर्षसम्म कैदको मागदाबी लिएर अभियोग दर्ता गरिएको छ । उनीहरु विरुद्ध अपहरण तथा व्यक्ति बेपत्ता, एकीकृत कसुर सम्बन्धी मुद्दा दायर गरिएको हो ।

यसैबिच उपचारमा संलग्न डाक्टर तपेश्वरलाल कर्णले बिक्री गरेको शिशुको तौल घटाउन विराटनगरस्थित ग्रीनक्रस हस्पिटलको नर्सलाई दबाब दिएको खुलेको छ । पाँच लाख रुपैयाँमा बिक्री गरेको नवजात शिशुको तौल घटाउन लगाएर बिक्री गरेको कसैलाई पनि नभन्न कर्णले ड्युटीमा रहेकी नर्सलाई दबाब दिएका थिए ।