९ कार्तिक २०८१, शुक्रबार 1729879435
Banner

मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एओसी) निलम्बन गरेको छ । प्राधिकरणले पछिल्लो तीन महिनाको अवधिमा दुई पटक दुर्घटनामा परेपछि मनाङ एयरको एओसी नै निलम्बन गरेको हो ।

आज बिहान मनाङ एयरको ‘एन–एनजे’कलसाईन हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लुक्लाबाट लोबुचे उडेको मनाङ एयरको हेलिकप्टर खुम्बुपासाङ ल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणको क्रममा आज बिहान दुर्घटनाग्रस्त भएको हो । दुर्घटनामा घाइते हेलिकप्टरका पाइलट प्रकाशकुमार सेडाइको उद्धार गरी अहिले काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।

पाइलट सेडाइ खतरामुक्त रहेको अस्पतालले जनाएको छ । लोबुचेको हेलिप्याड नजिकै दुर्घटनाग्रस्त हेलिकप्टरमा पाइलट सेडाइ मात्र रहेका थिए । हेलिकप्टरमा आगलागी भएको छ । दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटलाई फिस्टेल एयरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि काठमाडौँ ल्याइएको हो । उक्त हेलिकप्टर लुक्लामा सामान झारेर पर्यटक लिन लोबुचे उडेको थियो ।
यसअघि, तीन महिनाअघि मनाङ एयरको हेलिकप्टर सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिकामा दुर्घटना हुँदा पाइलट चेतबहादुर गुरुङसहित ५ जनाको मृत्यु भएको थियो । खराब मौसमका कारण सो दुर्घटना भएको थियो । यसपटक भने खराब मौसम नभइ असन्तुलित भएर दुर्घटना भएको प्रारम्भिक जानकारी आएको छ । मनाङ एयर हिमाली क्षेत्रमा पर्यटकको उद्धारमा प्रख्यात मानिन्छ ।