८ जेष्ठ २०८३, शुक्रबार 1779494733
समाचार

एनआरएनए कोषाध्यक्षमा सुदन थापाको उम्मेदवारी दर्ता

काठमाडौँः गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय कोषाध्यक्षमा जापानका सुदनकुमार थापाले उम्मेदवारी दिनु भएको छ । एनआरएनए आईसीसी ग्लोबल युवा संयोजक र एनसीसी जापानको अध्यक्षको जिम्मेवारी समाली सक्नु भएको थापाले बालुवाटारस्थित एनआरएनए सचिवालयमा पुगेर कोषाध्यक्षमा उम्मेदवारी दर्ता गराउनु भएको हो ।

उम्मेदवारी दर्ता पछि प्रतिक्रिया दिनुहुँदै थापाले ठोस प्रतिबद्धता सहित उम्मेदवारी दिएको बताउनुभयो । उहाँले एनआरएनएमा आर्थिक रुपान्तरणका लागि आफूलाई मत दिन सबै डेलिगेट्सहरुमा अपिल समेत गर्नु भएको छ ।

थापाले आर्थिक पारदर्शी , आर्थिक स्थायित्व, स्मार्ट आर्थिक प्रशासन, एनसीसी आर्थिक प्रशासन, संघको खर्च प्रणालीमा विशेष अडिट प्रणाली, ६ वटै महादेशमा एक लाख डलरको फण्ड स्थापना, एनआरएनए स्पोर्टस् एकेडेमीका लागि ठोस् आर्थिक कार्ययोजना, स्वदेश तथा विदेशमा रहेका युवाहरुका लागि स्वदेशमै लगानी अभियान, एनआरएनएबाट हुने कुनै पनि खरिद वा भुक्तानीमा मासिक प्रमाणीकरण व्यवस्था, आर्थिक अनुशासनका लागि मितव्ययी अर्थ प्रशासन, एनआरएनएको आर्थिक व्यवस्थाका लागि एक बृहत् एनआरएनए फाइनान्स मिटमार्फत आधुनिक आर्थिक प्रशासन नीति निर्माणजस्ता ११ वटा प्रमुख एजेन्डा अघि सार्नु भएको छ ।