९ कार्तिक २०८१, शुक्रबार 1729858148
समाचार

एमालेले सुरु गर्‍यो मध्यपहाडी यात्राको तयारी

काठमाडौं– नेकपा एमालेले आफ्नो ७५ औं स्थापना दिवसको अवसरमा मंसिरको अन्तिम साता मध्यपहाडी लोकमार्गको यात्रा गर्दै वृहत पार्टी सुदृढिकरण अभियान सुरु गर्ने भएको छ । यात्राको सम्भाव्यता अध्ययनका लागि नेकपा एमालेका दुई उपमहासचिवको नेतृत्वमा पूर्व र पश्चिममा दुई टोली खटिएका छन् ।

पश्चिमको झुलाघाटबाट सुरु गर्ने भनिएको अभियानका लागि सम्भाव्यता अध्ययन गर्न उपमहासचिव विष्णु रिमालको नेतृत्वमा एउटा टोली सो स्थानको यात्रामा छ ।

अर्का उपमहासचिव प्रदीप ज्ञवालीको नेतृत्वमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य तिलकुमार मन्याङ्बो, केन्द्रीय सदस्यहरु वसन्त नेम्वाङ, अइन्द्र सुन्दर नेम्वाङ, किरण पौडेल, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेत, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा, उपाध्यक्ष टिकाराम चेम्जुङ, सचिव राजकुमार भण्डारी, नेपाल भूपू सैनिक प्रहरी संगठनका अध्यक्ष विनोद पाण्डेलगायतको टोली चिवाभञ्ज्याङसम्मको यात्रामा निस्किएको छ ।


मंसिरमा हुने भनिएको यात्राको तयारीका लागि यो पूर्वतयारी महत्वपूर्ण भएको नेकपा एमालेका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बताए ।

नेकपा एमालेको मंसिरमा हुने यात्रा पश्चिमको झुलाघाटबाट सुरु हुने बताइएको छ । यात्रामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुने बताइएको छ । यो यात्राले नेकपा एमालेबारे आम मानिसमा सकारात्मक सन्देश जाने र यसले नेकपा एमालेमाथि पछिल्लो समय फैलिएका भ्रम चिर्न सहयोग हुने नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले बताए ।