८ कार्तिक २०८१, बिहिबार 1729822314
Banner

दुर्गा प्रसाईंले गणतन्त्र उल्ट्याउन प्रचण्ड, केपी ओली र शेरबहादुसँग पैसा मागे

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले गणतन्त्र उल्टाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल, केपी शर्मा ओली, शेरबहादुर देउवा र रवि लामिछानेले पैसा दिनुपर्ने बताएका छन् ।

आज आफ्नै निवास भक्तपुरमा पत्रकार सम्मेलन गरी उनले गणन्त्र उल्टाउने घोषणासमेत गरेका छन् । सो क्रममा उनले मंसिर ७ बाट सुरु गर्ने ‘नागरिक मुक्ति आन्दोलन’ ले वार कि पार गर्ने दाबीसमेत गरे । आज भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उनले यसतो दाबी गरे ।

प्रसाईंले भने, ‘मैले प्रधानमन्त्रीलाई क्यूआर कोड पठाएको छु । गणतन्त्र फ्याक्न मन्त्रिपरिषद्बाट निर्णय गराएर ५० लाख उपलब्ध गराउन भनेको छु । उहाँ मनको कमजोर हुनुहुन्छ । पक्कै दिनुहुन्छ ।’

साथै, उनले एमाले अध्यक्ष केपी शर्मा ओली र अन्य दलका नेताहरुसँग पनि पैसा माग्ने उनको भनाइ छ ।

‘ओली हजुरबासँग पनि ५० लाख रुपैयाँ माग्छु । शेरबहादुरसँग् पनि माग्छु । रवि लामिछानेले ५ लाखमात्रै दिँदा हुन्छ, उहाँले धेरै कमाउन भ्याउनुभएको छैन । मेरो नेतृत्वमा गणतन्त्र उल्टिन्छ’, प्रसाईंले भने ।

उनले २० लाखभन्दा मुनिको ऋण मिनाहा गर्नुपर्ने माग राखेका छन् । यस्तै राइट टु रिजेक्ट र नो भोटको व्यवस्था लागू गर्नुपर्ने, उच्चपदस्थ सबैको सम्पत्ति छानबिन गर्नुपर्ने, प्रदेश संरचना खारेज गर्नुपर्ने माग पनि उनको अभियानले अघि सारेको छ ।

व्यवस्था परिवर्तन नभएसम्म लघुवित्त र सहकारीको पैसा अहिले नतिर्न उनले उर्दी जारी गरेका थिए ।प्रसाईंले भने, ‘लघुवित्त र सहकारीको पैसा अहिले नतिर्नुस् । पहिले आन्दोलन सफल पारौं । व्यवस्था परिवर्तन गरौं । त्यसपछि देशका लागि के के गर्नुपर्छ सल्लाह गरौंला । अहिले चाहिं २० लाखभन्दा मुनिको गरिबको ऋण मिनाहा गर्नुपर्छ ।’

प्रसाईं सरकार र राजनीतिक दलहरुमाथि खनिएका थिए । खासगरी एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उनी बढी केन्द्रित भए । देशका समस्याहरु बिर्सेर ओली मोबाइलमा पब्जी खेलेर बस्ने गरेको उनको आरोप थियो ।

हिजो साइबर ब्युरोले बोलाएको प्रसंगमा उनले प्रहरी पनि कांग्रेस(एमाले बनेको टिप्पणी गरे ।