८ कार्तिक २०८१, बिहिबार 1729821666
Banner

कोशी प्रदेशमा दलहरुबीच मिल्यो मन्त्रालय भागबन्डा, तिहारलगत्तै मन्त्रिपरिषद् गठन हुने

काठमाडौं । कोशी प्रदेशमा सत्तारुढ गठबन्धनबीच मन्त्रिपरिषदका लागि भागबन्डा मिलेको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीबीच मन्त्रालय भागबन्डा मिलेको हो । तर, मन्त्रिपरिषद विस्तार भने तिहारपछि गरिने भएको छ ।

मुख्यमन्त्री केदार कार्कीनिकट स्रोतका अनुसार प्रदेशका ९ मन्त्रालयमध्ये नेपाली कांग्रेसले मुख्यमन्त्रीसहित चार वटा राख्ने छ । नेकपा माओवादी केन्द्रले ३ र नेकपा एकीकृत समाजवादीले एउटा मन्त्रालय लिनेछ ।
‘जसपाले नआउने बताए पनि गठबन्धन दल भएका कारण एउटा मन्त्रालय राख्ने सहमति छ’, मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘तिहार र छठपछि सरकार विस्तार हुन्छ, जिम्मेवारी बाँडफाँड पनि हुन्छ ।’

२७ असोजमा मुख्यमन्त्री नियुक्त कार्कीको मन्त्रिपरिषदमा हाल कांग्रेसबाट शमशेर राई, माओवादी केन्द्रबाट गणेश उप्रेती र नेकपा एकीकृत समाजवादीबाट कमलप्रसाद जवेगु बिना विभागीय मन्त्री छन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले तिहार र छठपछि सरकार विस्तार गर्ने सहमति भएको बताए । ‘सरकार विस्तार र जिम्मेवारी बाँडफाँडका विषयमा लगभग सहमति भएको छ’, उनले भने, ‘तिहारपछि निष्कर्षमा पुग्छौं ।’