८ कार्तिक २०८१, बिहिबार 1729829269
Banner

राष्ट्रपति, प्रधानमन्त्री निवाससहित थप पाँच क्षेत्रलाई निषेधित घोषणा

काठमाडौं । काठमाडौं प्रशासनले थप पाँच क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । दुर्गा प्रसाईं र युवा संघले मंसिर ७ गते आयोजना गर्न लागेका छुट्टाछुट्टै कार्यक्रमबाट हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप निषेधित क्षेत्र घोषणा गरेको हो ।

जिल्ला सुरक्षा समितिको सिफारिसमा प्रशासनले महाराजगञ्जस्थित राष्ट्रपतिको कार्यालय शितल निवास, प्रधानमन्त्री निवास बालुवाटारसहित पाँच क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो । राष्ट्रपति कार्यालय शितल निवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुसी निस्कने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिणतर्फ प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र घोषणा गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारका लागि पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म, प्रधान न्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिमसम्म, राष्ट्र बैकं चोकबाट पूर्वतर्फ १०० मिटरसम्म र इटालीया चोकबाट ५० मिटर दक्षिणसम्म निषेधित क्षेत्र तोकिएको छ ।

यसैगरी संसद् भवन नयाँ बानेश्वरमा संसद् भवनको चारैतर्फको सडकसम्म, संसद् भवनको दक्षिण मोड (यातायात व्यवस्था विभाग) देखि पूर्वतर्फ मिनभवन चोकसम्म निषेधित क्षेत्र तोकिएको छ ।

सिंहदरबारमा भद्रकाली मन्दिर पूर्व तिनकुने आइल्याडको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूलगेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय मोडसम्म, पद्मोदय मोडदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडबाट सिंहदरबार पूर्वी गेट हुँदै हनुमानस्थान मन्दीरसम्म, सिंहदरबार पश्चिम गेटदेखि सर्वोच्च अदालत अगाडि हुँदै माइतीघर मण्डलासम्म, माइतीघर मण्डलादेखि सिंहदरबार दक्षिण गेट हुँदै हनुमानस्थान मन्दिरसम्म, बबरमहलस्थित जिल्ला अदालत मोडको प्रवेश मार्गदेखि जिल्ला प्रशासन कार्यालय उत्तरतर्फको मोडसम्म निषेधित क्षेत्र तोकिएको छ ।

उपराष्ट्रपति कार्यालय हरित गृहमा केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटलको सिमानासम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।