८ मंसिर २०८१, शनिबार 1732412589
समाचार

ताप्लेजुङमा बुधबार पनि बन्दको घोषणा

पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाइ नगरिएकोभन्दै पहिचान पक्षधरले भोलि बुधबारका लागि ताप्लेजुङमा बन्दको घोषणा गरेका छन्। मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै पहिचान पक्षधर समूहले बन्दको घोषणा गरेका हुन्। 

विज्ञप्तिअनुसार ताप्लेजुङमा बजार पसल र यातायात बन्द हुने उल्लेख गरिएको छ। नेकपा एमाले सचिव एवम् प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराई र एमाले पोलिटब्यूरो तथा प्रदेससभा सदस्य तिलकुमार मेन्याङ्बोविरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने क्रममा पक्राउ परेका आफ्ना कार्यकर्तालाई रिहाइ नगरेका कारण आन्दोलनलाई थप सशक्त बनाउनुपरेको सो समूहले उल्लेख गरेका छन्।

आन्दोलनरत पक्षमाथि नै हमला गर्ने एमाले कार्यकर्तालाई पक्राउ गरी कारबाही गर्नुको सट्टा उल्टै आन्दोलनरत पक्षका कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाउने प्रहरी प्रशासनको गलत नियत भएको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रदेश नं. १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिका जिल्ला संयोजक डम्बरबहादुर पालुङ्वाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अपराधी झै आफ्ना साथीहरुलाई मध्यरातमा गिरफ्तार गरिएको पनि आरोप लगाइएको छ। 

गिरफ्तार गरिएका कार्यकर्ता बिपिन कङ्लिवा र आनन्द कङ्लिवालाई बिनासर्त रिहाइ नगरसम्म बुधबारदेखि चरणबद्ध आन्दोलनलाई सशक्त बनाइने विज्ञप्तिमा उल्लेख गरिएको छ। त्यस्तै सो समूहले प्रदेशको पुनःनामाङ्कन नभएसम्म पहिचानवादी आन्दोलनलाई जारी राख्ने पनि जनाएका छन्।