८ मंसिर २०८१, शनिबार 1732423967
फिचर

कृषिले फेरिएको गाउँ, जहाँका कृषकले तरकारीबाटै भित्र्याए एक करोड रुपैयाँ

पाल्पा- पश्चिम पाल्पाको रिब्दीकोट गाउँपालिका ७ पौरखनी गाउँका अगुवा कृषक कुजु रानाले यस वर्ष टमाटर खेतीबाट यतिका रुपैयाँ हात पर्ला भनेर कहिल्यै कल्पना समेत गर्नुभएको थिएन ।

गाउँमा सिँचाइको भरपर्दो माध्यम नहुँदा घर परिवारमा दैनिक आवश्यक पर्ने तरकारी पनि घर नजिकैको बतासे बजारबाट किनेर खानुपर्थ्यो । पछिल्लो दुई वर्षयता गाउँमा स्मार्ट कृषि गाउँ कार्यक्रम भित्रिएपछि यो गाउँमा अहिले राना जस्ता धेरै कृषकले व्यवसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गर्न लागेपछि सबै दंग परेका छन् ।

एकातर्फ बारीमा भरपर्दो सिँचाइको माध्यम नहुनु, अर्कोतर्फ वन्यजन्तुबाट बाली जोगाउनै कठिन भएका बखत गाउँमा कृषकहरूको जीवनस्तर माथि उकास्न लुम्बिनी प्रदेश सरकारको स्मार्ट कृषि कार्यक्रम कृषि ज्ञान केन्द्रले कार्यान्वयन गरेपछि सिंगो गाउँ नै हराभरा मात्र भएको छैन व्यवसायीक तरकारी खेतीले कृषकको जीवनस्तर नै परिवर्तन गरिदिएको छ ।

स्मार्ट कृषि कार्यक्रम गाउँमा पुगेपछि सिँचाइको दीर्घकालीन व्यवस्थाका लागि पोखरी निर्माण गरी थोपा सिँचाइको माध्यमबाट सिँचाइ सुविधा हुँदा कृषकहरूले मौसमी तथा बेमौसमी तरकारी खेतीबाट राम्रो आम्दानी गर्न सफल भएका हुन् ।

यस वर्ष टमाटर खेतीबाट गाउँमा ५० लाख रुपैयाँ भित्रियो । प्राविधिकका अनुसार टनेल निर्माण गरी टमाटर खेती गरेको र टमाटर खेतीबाटै कृषकले १५ लाख रुपैयाँ हात पार्न सफल भएका छन् । स्थानीय सरकारको समन्वय र सहकार्यमा लागू भएको कार्यक्रमबाट कृषकलाई अपेक्षा गरे भन्दा बढि नै फाइदा भयो ।

कृषकहरूले अकबरे खोर्सानी, टमाटर सिमी, मुला, बन्दा, काउलीको व्यवसायिक रूपमै खेती गरेका छन् । विगतमा गाउँमा सडक सञ्जाललाई जोडेको थिएन । डोकोमै भारी बोकेर बजार लैजान पर्थ्यो । सिँचाइको मात्र होइन खानेपानीको समेत पर्याप्त सुविधा थिएन । त्यसैले तरकारीमा परनिर्भरता थियो ।

२०७७, ०७८ सालबाट स्मार्ट कृषि कार्यक्रम लागू भएपछि तीन सय रोपनी भन्दा बढि क्षेत्रफलमा बाह्रै महिना तरकारी खेती हुने गरेको स्थानीय कृषक इन्द्रजङ्ग रायमाझी बताउनुहुन्छ । यस वर्ष तरकारी, टमाटर, खुर्सानीका लागि अनुकुलको वातावरण नै बन्यो ।

यस वर्ष दुईवटा टनेलको तरकारीबाट दुई लाख रुपैयाँको बिक्री गरेको र अझै एक लाख भन्दा बढिको बिक्री गर्न बाँकी नै रहेको स्थानीय कृषक कमला राना बताउनुहुन्छ । कृषकको जीवनस्तर माथि उठाउन स्थानीय तहमै रोजगारीको वातावरण सृजना गरी वैदेशिक रोजगारीलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश सरकारसँगको सहकार्यमा कार्यक्रम लागू गरिएको स्थानीय सरकार रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी बताउनुभयो ।

कृषकलाई सिँचाइ प्रविधिसँगै पूर्वाधार निर्माण, मल, बिउँ खरिदमा अनुदानको व्यवस्था भएपछि कृषकहरू उत्साहित भएको कृषि ज्ञान केन्द्र पाल्पा प्रमुख कामना अधिकारीले बताउनुभयो ।