चितवन- राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैँडा मारी खाग ओसारपसार र बिक्री वितरणमा संलग्न रहेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई बिहिबार चितवन राष्ट्रिय निकुञ्जको मुख्यालय कसरामा सार्वजनिक गरिएको हो ।
विभागमा रहेको केन्द्रीय वन्यजन्तु अपराध नियन्त्रण एकाइको समन्वयमा नेपाली सेना, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र चितवन राष्ट्रिय निकुञ्जको संलग्नतामा एकीकृत अपरेसन सञ्चालन गरी उनीहरुलाई पक्राउ गरिएको हो ।
विभागका महानिर्देशक डा सिन्धुप्रसाद ढुङ्गानाका अनुसार पक्राउ पर्नेमा मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका–३ लेबर्ट बस्ने ३३ वर्षीय रमेश खाती रहेका छन् । उनलाई मङ्सिर ९ गते चितवनको राप्ती नगरपालिका–६ बाट पक्राउ गरिएको हो । उनी गैँडाको खाग बिक्री वितरण गर्ने मुख्य योजनाकार रहेको महानिर्देशक ढुङ्गानाले बताउनुभयो ।
चितवनको राप्ती नगरपालिका-११ ठाकलटार बस्ने ४२ वर्षीय पासाङ भन्ने आइतेसिंह मोक्तान रहेका छन् । उनलाई सोही दिन राप्ती नगरपालिका–६ बाट पक्राउ गरिएको हो । उनी गैँडा मार्ने शिकारी भएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
गैँडाको खाग बिक्री वितरणमा सहयोग गर्ने मकवानपुर राक्सिराङ गाउँपालिका-९ घर भई हाल हेटौँडा उपमहानगरपालिका–४ बस्ने ४४ वर्षीय शमशेर थिङ पक्राउ परेका छन् । उनीसमेत राप्ती नगरपालिका–६ बाट पक्राउ परेका हुन् ।
गैँडा मारी खागको बिक्री गर्ने मुख्य योजनाकारका रुपमा मनहरी गाउँपालिका– ६ का ५६ वर्षीय थिङ बाजे भन्ने सीताराम थिङलाई पनि सोही दिन सोही क्षेत्रबाट पक्राउ परेको ढु्ङ्गानाले जानकारी दिनुभयो ।
खाग बिक्री वितरणमा सहयोग गरेको अभियोगमा रोल्पाको सुनछहारी गाउँपालिका–६ फगाम घर भई हाल हेटौँडा उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय अर्जुन रोका पक्राउ परेका छन् । उनलाई पनि राप्ती–६ बाट नै मङ्सिर ९ गते नै पक्राउ गरिएको हो ।
सोही अभियोगमा गोरखा बारपाक घर भई भरतपुर महानगरपालिका–११ लामा टोल बस्ने ७७ वर्षीय घले भन्ने धनबहादुर गुरुङलाई अन्यसँगै राप्तीबाटै पक्राउ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।