पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि प्रहार गरिएको मकैको खोया सजाएर राख्ने बताएका छन् । उनले खोया प्रहारपछि यस्तो प्रतिक्रिया दिएका हुन् । सो अवसरमा उनले आफूले टेलीभिजन पत्रकारितामा रहँदा धेरै नेपालीको पक्षमा काम गरेको उपहार अहिले खोयाको रुपमा पाएको भन्दै व्यंग्यसमेत गरेका छन् । ‘यो मलाई चेतवानी दिइएको हो । तपाईं र मेरा सपना वास्तविकतामा परिणत नभएसम्म यसलाई सजाएर राख्नेछु,’ प्रहार गरिएको खोया देखाउँदै उनले भने ।
उनले जतिसुकै प्रहार भए पनि आफू कालो सिसाभित्र लुकेर हिँड्ने नेता नभएको बताए । पोखरास्थित अमरसिंहचौरमा चलिरहेको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि सभामा सहभागी एक युवकले शनिवार मकैको खोया प्रहार गरेका हुन् ।
खोया प्रहार गर्ने युवक लमजुङका २८ वर्षीय सन्तोष रानाभाट भएको कास्की प्रहरीले जनाएको छ । उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिइएको छ ।