काठमाडौं । गैरआवासीय नेपाली संघले शुक्रबार ललितपुरको बालकुमारीमा भएको झडपमा दुई युवकको मृत्यु भएकोप्रति दुःख व्यक्त गरेको छ । संघले आइतबार विज्ञप्ति जारी गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।
“वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जान आवश्यक परीक्षाको तयारी गर्दै गरेका २३ वर्षीय सुजन रावत र २२ वर्षीय वीरेन्द्र शाहले ज्यान गुमाएको उक्त घटनाले सबै गैरआवासीय नेपालीहरूलाई भावनात्मक चोट पुगेको छ,” संघले विज्ञप्तिमा भनेको छ ।
नेपालमा पर्याप्त रूपमा रोजगारीका अवसर नहुँदा आफू र आफ्नो परिवारको उज्ज्वल भविष्यको लागि दैनिकरूपमा हजारौँको संख्यामा नेपाली युवा विदेशिन बाध्य भएको संघले जनाएको छ । यस्तो परिस्थिति र पृष्ठभूमिमा युवाप्रति सम्बन्धित निकायले देखाउने व्यवहार संवेदनशील हुन जरुरी रहेको समेत संघले बताएको छ ।
नेपालमै थप रोजगारी सृजना गर्न, वैदेशिक रोजगारीमा जाने युवाहरूलाई गन्तव्य मुलुकसम्म पुग्नको लागि स्पष्ट, सरल र सहज वातावरण बनाउन संघ नेपाल सरकारसँग सहकार्य गरी अघि बढ्न सधैँ तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।