१५ श्रावण २०८३, शुक्रबार 1785497237
Banner

कोशी प्रदेशको नाम जनताबाट अनुमोदित: शंकर पोखरेल 

दाङ-नेकपा एमालेका महासचिव शंकर पोखरेलले कोशी प्रदेशको नाम कोशी प्रदेश सभाले मात्र नभएर जनताले समेत अनुमोदन गरिदिएको बताउनुभएको छ। 

नेकपा एमाले दाङले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको बिहीबार उद्घाटन गर्दै महासचिव पोखरेलले नेकपा एमालेले सञ्चालन गरेको पुष्पलाल मध्यपहाडी लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको क्रममा नागरिकले सो प्रदेशको नाम अनुमोदन गरेको दाबी गर्नुभयो ।

यात्राको क्रममाका कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर एमालेलाई छिर्नै नदिने भनी सत्तारुढ दलले समेत गरेको प्रचारलाई जनसागर उर्लिएर चिरिदिएको पोखरेलले बताउनुभयो। 

कोशी प्रदेशका सबै ठाउँमा भएका सभा र यात्राको क्रममा नागरिक सहभागिता ऐतिहासिक भएको उहाँले बताउनुभयो । डर, त्रास र धम्कीका बाबजुद यात्राको क्रममा सबैभन्दा ठूला सभा कोशी प्रदेशमा नै भएको उहाँले बताउनुभयो।

‘जनताले आफ्नो सहभागिताद्वारा अतिवाद माथि असहमति जनाए, हाम्रा मान्यतालाई जनताले अनुमोदन गरिदिए, कोशी प्रदेशको नामाकरणको सन्दर्भमा एमालेलाई एक्लाउने  खालको जुन प्रयत्न  भएको थियो, सत्तामा भएकाले पनि आफैँ निर्णय गर्ने, आफैँ निर्णयबाट पछि हटी अतिवादलाई प्रवर्धन गर्ने जे काम गरिरहेका थिए, जुन कामलाई गलत साबित गरिदिए’, उहाँले भन्नुभयो।