८ मंसिर २०८१, शनिबार 1732423089
Banner

एअरपोर्टमा प्रहरीद्वारा अध्यागमन अधिकृतमाथि कुटपिट

काठमाडौँ । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा प्रहरीले कर्मचारीमाथि हातपात गरेका छन् । शुक्रबार बिहान चेकजाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले हातपात गरेका हुन् ।

शुक्रबार बिहान आफ्नो काम सकी फर्कने क्रममा अराइभलतर्फ रहेका प्रहरी कर्मचारीले शरीर खानतलासी गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले कुटपिट गरेका हुन् ।

मेटल फ्री भई फर्कने क्रममा प्रहरीले शरीर खानतलासी गरेपछि कर्मचारीले मेटल फ्री भएपछि सधैँ यसरी त चेक गर्नु पर्दैन होला नि भनेकामा प्रहरीले कुटपिट गरेको अध्यागमन कर्मचारीको गुनासो छ । यद्यपि प्रहरीले आफ्नो जिम्मेवारी पूरा गर्दा कर्मचारीले असभ्य बोलेकाले धकेलाधकेलसम्म भएको तर कुटपिट नभएको दाबी गरेको छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख गोगन बहादुर हमालका अनुसार शुक्रबार बिहान कर्मचारीमाथि प्रहरीले कुटपिट भएपछि दुवै पक्षबिच छलफल भएको थियो ।

छलफलमा जो दोषी देखिन्छ उसलाई कारबाही गर्ने भनी सीसीटीभी हेर्दा कर्मचारी र प्रहरीबिच भनाभन भएको देखिएको र भनाभनपछि प्रहरीले अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि आक्रमण भएको देखिएको थियो ।

त्यसपछि हमालले प्रहरीको ज्यादती बढी भयो भनी कुरा गर्ने बित्तिकै सीसीटीभी शाखामा रहेका प्रहरीहरुले पुनः मोक्तानमाथि आक्रमण गरेका थिए । त्यही क्रममा कार्यालय प्रमुख हमालमाथि समेत आक्रमण भएको छ ।