७ जेष्ठ २०८३, बिहिबार 1779415875
Banner

नक्कली प्रमाणपत्र पेस गरेर जागिर गर्ने शिक्षकविरुद्ध मुद्दा दायर

काठमाडौं । नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी जागिर खाएको भन्दै पोखरास्थित श्रीराम प्राथमिक विद्यालयमा कार्यरत शिक्षकमाथि विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको छ ।

पोखरा महानगरपालिका-८ स्थित श्रीराम प्राथमिक विद्यालयका प्राथमिक तहका स्थायी शिक्षक विन्दु गौतम शर्मामाथि नक्कली प्रमाणपत्र देखाएर जागिर खाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार शिक्षक शर्माले शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गर्न माग गर्दै अख्तियारको कार्यालयमा उजुरी निवेदन परेको थियो। सो निवेदनमाथि अनुसन्धान हुँदा शर्माले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, बोर्ड अफ हाईस्कुल एण्ड इण्टरमिडियट एजुकेसन, युपी भारतबाट एसएलसी तहको नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्रहरू पेस गरी  प्राथमिक तहको अस्थायी र स्थायी शिक्षक पदमा नियुक्त भएको पुष्टि हुन आएको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो।

शर्माको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ ९१० सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।