२८ भदौ २०८३, आइतबार 1789337866
Banner

त्रिकोणात्मक टी २० सिरिजमा नेपालको रोमाञ्चक जित

काठमाडौं : त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले पहिलो जित दर्ता गराएको छ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा नेपालले नामिबियामाथि  ३ रनको रोमाञ्चक जित दर्ता गराएको हो।

नेपालले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा १ सय ७७ रन मात्र बनाउन सक्यो।

नामिबियालाई जितका लागि अन्तिम ओभरमा १२ रन आवश्यक थियो। करण केसीले ८ रन दिएर एक विकेट लिए।

योसँगै नेपालले पहिलो खेलमा ब्यहोरेको हारको बदला पनि लिन सफल भएको छ।

सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँगै २० रनले पराजित भएको थियो भने दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले स्तब्ध भएको थियो ।

नेपालका लागि कुशल मल्लले अविजित ५५ रनको योगदान गरे। आरिफ शेखले ३१, गुल्सन झा २६, अनिल साह २३, दीपेन्द्रसिंह ऐरीले १६ र कप्तान रोहित पौडेलले १० रन बनाउँदा अरू खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।