१८ असार २०८३, बिहिबार 1783033615
Banner

फागु मनाउने क्रममा विवाद बढेपछि ललितपुरमा दुइ समूहबीच झडप, दुईजनाको मृत्यु

काठमाडौं । ललितपुरको ढोलाहिटीमा आइतबार राति दुई समूहबीच झडप हुँदा दुईजनाको मृत्यु भएको छ। प्रहरीका अनुसार झडपका क्रममा छुरी प्रहारबाट दुईजनाको ज्यान गएको हो।

धरान घर भई ढोलाहिटी बस्ने रोवस राई र पाँचथर घर भई खुमलटार बस्ने पूजन राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी एसपी नरेश सुवेदीले जानकारी दिए।

घटना आइतबार राति १० बजेपछिको हो। एसपी​ सुवेदीका अनुसार राति ११ बजेतिर एकजनालाई सुमेरु र एकजनालाई पाटन अस्पताल लगिएपछि प्रहरीले घटनाबारे जानकारी पाएको हो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

प्रहरीले घटनास्थलबाट एकथान छुरी र एउटा छुरीको बिँड बरामद गरेको छ। घटनामा संलग्न भएको आशंकामा प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ। ‘रातिको घटना भएकाले धेरै कुरा खुल्न बाँकी छ’, एसपी सुवेदीले भने, ‘घटनामा संलग्न भएको आशंकामा दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएका छौँ।’

फागुपर्व मनाउने क्रममा विवाद भएको प्रहरीको अनुमान छ।