२७ जेष्ठ २०८३, बुधबार 1781122006
अपराध

बङ्गलादेशका पाँच नागरिक काठमाडौँमा पक्राउ

काठमाडौँ, १३ चैत : प्रहरीले भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा बङ्गलादेशको ढाका घर भई हाल काठमाडौँ सोह्रखुट्टे बस्ने २६ वर्षीय एमडी रिफत अहमद, २३ वर्षीय एमडी अब्दुल्ला, ४५ वर्षीय एमडी समुयल होडा, ३० वर्षीय अब्दुल विश्वास तथा ३६ वर्षीय एमडी मासुम मियाँ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार भिसा अवधि समाप्तपश्चात् गैरकानुनी तवरले बङ्गलादेशी नागरिक विभिन्न मितिमा नेपाल प्रवेश गरि गैरकानुनी ढङ्गले बसोबास गर्नाका साथै शङ्कास्पद गतिविधिमा संलग्न रहेको भन्ने सूचनाका आधारमा निजहरुलाई सोह्रखुट्टेबाट पक्राउ गरिएको हो । पक्राउ परेकामध्ये विश्वास र मियाँलाई यही चैत ९ गते पक्राउ गरिएको थियो भने अन्य तीनजनालाई सोमबार पक्राउ गरिएको हो । निजहरुलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि अध्यागमन विभाग कालिकास्थानमा पठाइएको सूचना अधिकारी पोखरेलले बताउनुभयो ।