१२ मंसिर २०८१, बुधबार 1732701980
Banner

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौँ — तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरिएको हो ।

तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपालप्रसाद सिग्देल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लि। सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आइतबार संयुक्त रूपमा स्विच दबाएर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो ।

आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशय मुहानबाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १ हजार ४ सय ९३ मिटर लामो सुरुङ ‘ब्रेक थ्रु’ भएको हो । मुख्य सुरुङको ब्यास ७.४ मिटर रहने छ ।

प्याकेज–३अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणका के.इ.सी. इन्टरनेशनल लिमिटेड, भारतले गरिरहेको छ । ३४.७ कि.मि. प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७६ वटा टावरहरुको जग हालिएको छ भने ६२ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ७२ प्रतिशत रहेको छ ।