८ मंसिर २०८१, शनिबार 1732374117
Banner

आज घोडे जात्रा, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं- आज घोडेजात्रा पर्व विभिन्न कार्यक्रम गरी मनाइँदैछ । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा मनाउने परम्परा छ ।

टुँडिखेलको पूर्व–दक्षिणमा रहेको रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसको भयसँग जोडेर जात्राको प्रारम्भ गरिएको धार्मिक विश्वास छ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्व-दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडितले विभिन्न उपायले त्यसलाई संहार गरे। तर उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो। संस्कृतिविद्का अनुसार यसैकारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । यो पर्वमा शहरभर घोडा कुदाउने गरिन्थ्यो। बस्ती विस्तार भएपछि हाल टुँडिखेलमा मात्र कुदाउन थालिएको संस्कृतिविद् बताउँछन्।

शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी घोडेजात्राको राति टुँडिखेलको त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ। 

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा नेपाली सेनाका तर्फबाट आज सैनिक मञ्च टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतका विभिन्न प्रदर्शनी गरिंदैछ ।

समारोहमा उपराष्ट्रपतिलगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति रहनेछ । समारोहमा विभिन्न विधाका घोडा दौड प्रतियोगिता हुनेछ । परम्परालाई कायम राख्न तथा संस्कृतिको संरक्षण गर्न नेपाली सेनाले घोडाका रोमाञ्चक कला प्रदर्शन गर्दै आएको छ । घोडेजात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।