३ भदौ २०८३, बुधबार 1787158690
Banner

समिति बनाउनुपर्ने अडान कायमै राखेपछि सभामुखले बोलाएको बैठक निष्कर्षविहीन

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख चार दलसँग छलफल गरेका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै रहेको बताएपछि बैठक निष्कर्षविहीन बनेको छ।

सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ। उक्त माग पूरा नभएपछि गृहमन्त्री लामिछानेलाई रोस्टममा जानसमेत रोक लगाउने कांग्रेसको तयारी छ। संसदमा भोलि गृहमन्त्री लामिछानेले राजनीतिक दलसम्बन्धी संशोधित विधेयक पेस गर्ने कार्यसूची छ। त्यसैले बैठकमा कुनै अवरोध नहोस् भनेर सभामुख घिमिरेले संसदमा रहेका प्रमुख चार दलसँग छलफल गरेका हुन्।

त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्री लामिछानेले भोलि विधेयक पेस गर्ने कार्यतालिका रहेको र त्यहीबेला आफूमाथि उठेको प्रश्नको जवाफ दिने बताए। यता राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेसले सभापति लामिछानेमाथि मिथ्या आरोप लगाएको बताएको छ। आफूहरू लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने भएकाले कांग्रेसको आरोप नसहने रास्वपाको भनाइ छ।

बैठकमा प्रधानमन्त्री पुष्कमलम दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी छन्। एमाले अध्यक्ष केपी शर्मा ओली भने अनुपस्थित छन्। एमालेबाट उपाध्यक्ष विष्णु पौडेल सहभागी थिए। त्यस्तै बैठकमा चार दलका प्रमुखत सचेतक र सचेतकहरूको पनि उपस्थिति थियो।