काठमाडौं । आज विक्रम सम्वत २०८१ सालको पहिलो दिन । विक्रम संवत्को पात्रोअनुसार आजदेखि नयाँ वर्ष लाग्दैछ । हरेक वैशाख १ गते हुने नयाँ वर्षलाई नेपाली संस्कृतिमा विशेष दिनका रुपमा मनाइन्छ ।
विसं पात्रोअनुसार सौर्यमानक हिसाबले वैशाख १ गते नयाँ वर्ष मनाइन्छ भने चन्द्रमानक हिसाबले चैत्र शुक्ल प्रतिपदा तिथिका दिन नयाँ वर्ष मनाइन्छ । विसं हिन्दू पञ्चाङ्गमा आधारित भएर निर्माण गरिएको पात्रो मानिन्छ ।
नयाँ वर्षका अवसरमा आपसमा सद्भावका तथा आदानप्रदान गर्ने गरिन्छ । नयाँ वर्षको अघिल्लो साँझ साथीभाइ, इष्टमित्र भेटघाटसहित रमाइलो गरी वर्षान्त पनि मनाइन्छ । नयाँ वर्षमा धार्मिक आस्था राख्नेहरुले मठमन्दिरमा गई पूजाआजा गर्ने पनि गर्दछन् । विगतका कामको समीक्षा गर्दै कमजोरी सुधारेर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लाग्न नयाँ वर्षका अवसरमा प्रण पनि गर्ने गरिन्छ । नयाँ वर्षमा सफलता मिल्ने शुभकामना एक अर्कामा व्यक्तै गर्दै र मिस्ठान्न भोजन, भेटघाट गर्दै आज नयाँ वर्ष विशेष पर्वको रुपमा मनाइने गरिन्छ ।
आज बिहानै स्नान गर्ने, घर, कोठा-आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्ने गरिन्छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास रहेको छ ।
विक्रमादित्यले चलाएको सम्वत् भएकाले यो सम्वतलाई विक्रम सम्वत् भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक सम्वतका रुपमा विक्रम सम्वत चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो सम्वत् चल्छ । भारतमा सरकारी सम्वत शक सम्वत भए पनि व्यवहारमा इस्वी सम्वत चलेको छ ।
विक्रम सम्वत् १३५ देखि शक सम्वत, सम्वत् ६३३ देखि मानदेव सम्वत, विक्रम सम्वत् ९३६ देखि नेपाल सम्वत चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ । विक्रमको १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरू बताउँछन् ।
नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिइने परम्परा भएपनि आज शनिबार पनि भएकाले थप रमाइलो गरि नयाँ बर्ष मनाईँदै छ ।