२७ भदौ २०८३, शनिबार 1789236101
Banner

प्रधानाध्यापकसहित आठ जनाविरुद्ध वन मुद्दा दायर

लेखनाथ। विद्यालय हाताभित्र रहेका रूख कानुन विपरीत काटेर बिक्री गरेको अभियोगमा गण्डकी बोर्डिङ स्कुलका प्रधानाध्यापकसहित आठ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ।

डिभिजन वन कार्यालय कास्कीले प्रधानाध्यापक वीरेन्द्र खड्कासहित आठ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो।
विद्यालयको खेलकुद मैदान, छात्रावास वरिपरि र परिसरमा रहेका सल्ला, सिसौ, सल्ला लगायतका २५ रूख काटिएको थियो। वन कार्यालयले अनुसन्धान गर्दा वन नियमावली, २०७९ अनुसार प्रक्रिया पूरा नगरेको देखिएको डिभिजन वन कार्यालय कास्कीका वन अधिकृत हरिप्रसाद गौतमले बताउनुभयो।

रुख कटान गर्दा बनेका दाउरा विद्यालयको सिनियर म्यानेजमेन्ट टिमले ६० हजारमा बिक्री गरेको थियो। वन ऐन, २०७६ को दफा ४९ को उपदफा (घ) अनुसारको कसुर भएको दाबीसहित बिगो तीन लाख ७९ हजार चार सय बराबरको वन पैदावार हानी, नोक्सानी गरेको पुष्टि हुन आएको डिभिजन वन कार्यालय कास्कीले जनाएको छ।

बिगो असुल गरी १० हजार जरिवाना तथा छ महिना कैद मागदाबी गर्दै वन कार्यालयले खड्कासहित लोकबहादुर थापा, कृष्णबहादुर थापा, सोनी गुरुङ थापा, कृष्णप्रसाद अधिकारी, सन्तबहादुर विश्वकर्मा, रामप्रसाद लामिछाने र यज्ञराज शर्माविरुद्ध अभियोगपत्र दर्ता गराएको हो