१९ आश्विन २०८३, सोमबार 11:12 pm
Banner

रेशम चौधरी र रञ्जिता श्रेष्ठविरुद्ध दायर मुद्दाको आज सुनुवाइ हुँदै

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले अध्यक्ष रञ्जिता श्रेष्ठविरुद्ध दायर मुद्दाको आज सुनुवाइ हुँदै छ । रेशमले रञ्जिता र निर्वाचन आयोगलाई विपक्षी बनाएर सर्वोच्चमा दायर मुद्दाको आज पेशी तोकिएको हो ।

यसअघि चैत ३० गतेका लागि पेशी तोकिएको थियो । तर, उक्त दिन बहस भएन । आज पनि बहस हुने वा नहुने भन्ने निश्चित भने छैन । यसअघि तीन पटकसम्म चढेको पेशीमा एक पटक मात्रै बहस भएको थियो ।

टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिएको थिएन । “अयोग्य व्यक्तिलाई योग्य व्यक्ति सरह मानी अधिकार प्रत्यायोजन गरी महाधिवेशन गरे गराएको भनी राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को ५१ बमोजिम आयोगसमक्ष विवरणसहित जानकारी गराएको देखिँदा नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रञ्जीता श्रेष्ठलगायत सो पार्टीको केन्द्रीय समितिलाई अब उप्रान्त दलको विधान र प्रचलित कानुन प्रतिकूल कार्य नगर्नु नगराउनु भनी सचेत गराउने,” आयोगको निर्णयमा भनिएको छ ।

निर्वाचन आयोगले अध्यक्षमा रञ्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका थिए ।