फिक्कल (इलाम) । इलाम क्षेत्र –२ मा मतदान सुरु भएको छ । सबै एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो ।
शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उहाँले बताउनुभयो ।
यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।
त्यस्तै बझाङ प्रदेशसभा निर्वाचन (१) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताउनुभयो ।
प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी आफूलाई प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ ।