१२ भदौ २०८३, शुक्रबार 1787918189
Banner

कांग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न नसके परिणाम राम्रो हुँदैन : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले कांग्रेस नेताहरुमाथि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपको पुष्टि गरेर देखाउन चुनौति दिएको छ । सोमवार पत्रकार सम्मेलन गरी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले यस्तो चुनौति दिएका हुन् ।

उनले नेपाल सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अंगहरुलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग आरोप समेत लगाए । उनले नेपाली काँग्रेसलाई र कांग्रेसका नेताहरुलाई लगाएको आरोप प्रमाणित गरेर देखाउन नसके परिणाम राम्रो नहुने चेतावनी दिए ।

उनले भने, ‘नेपाल सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अंगहरुलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग गरेको छ । यो हाम्रो ठहर हो । उहाँले जसरी नेपाली काँग्रेसलाई र काँग्रेसका नेताहरुमाथि जसरी लाञ्छना लगाउनु भयो, जसरी प्रश्न उठाउनुभएको छ, हामी चुनौति दिन चाहन्छौँ, चुनौतिपूर्वक भन्न चाहन्छौँ, तपाईं छानबिन, अनुसन्धान गर्नुस् र प्रमाणित गर्नुस् ।

सरकारको त्यो काम हो, प्रश्न सोध्ने काम होइन । सबै घटनाको छानबिन गरेर प्रमाणित गर्नुस् चुनौति छ । तपाईंले यति धेरै लाञ्छना लगाउनुभएको छ, यदि त्यो भोलिका दिनमा प्रमाणित गर्न सक्नुभएन भने के हुन्छ त्यो कुरा भोलिका दिनमा व्यहोर्नु पर्ला ।’

उनले सरकारको काम प्रश्न सोध्ने नभइ काम गर्ने भएको बताए ।