२८ भदौ २०८३, आइतबार 1789289408
Banner

गृहमन्त्रीप्रति सांसद शाहीको टिप्पणी प्रतिपक्षमा बस्दा एउटा, सत्तामा जाँदा अर्को चरित्र हुने रहेछ

काठमाडौँ, १३ जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता एवम् सांसद ज्ञानबहादुर शाहीले सत्ता र प्रतिपक्षमा रहँदा राजनीतिक दलका आवाज एउटै हुनुपर्ने बताउनुभएको छ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुको तर्फबाट धारणा राख्न अनुमति दिएपछि शाहीले सहकारीको अर्बांै रकम अपचलनमा जोसुकै संलग्न भए पनि कारबाही गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रवक्ता शाहीले भन्नुभयो, “प्रतिपक्षमा बस्दा एउटा आवाज बोल्ने, सत्तामा पुगेपछि अर्कै आवाज बोल्ने गर्नु हुँदैन । त्यसैले सबैलाई समानरूपमा कानुन लागू हुनुपर्छ ।” उहाँले आफ्नो पार्टीका सांसद गीता बस्नेतको सहकारीको रकम अपचलनमा संलग्नता देखिएपछि कारबाही प्रक्रिया अगाडि बढ्ने तर उप्रधानमन्त्री तथा गृहमन्त्री सहकारी रकम अपचलनमा संलग्न रहेको भनिए पनि कारबाही किन नगर्ने भनी प्रश्न गर्नुभयो ।

सांसद शाहीले सहकारीको रकम अपचलनमा संलग्नमाथि निष्पक्ष छानबिन गर्न संसदीय समिति गठनको माग गर्नुभयो । बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेको विरोध र नाराबाजी जारी छ ।