२३ भाद्र २०८१, आइतबार 1725781521
Banner

सहकारी ठगी प्रकरणमा सहमति खोज्न फेरि बालुवाटार पुगे कांग्रेस नेता

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको कार्यादेशमा सहमति जुटाउन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरू फेरि छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन् । सोमबार बिहान बसेको बैठक बिनानिष्कर्ष टुंगिएपछि कांग्रेस शीर्ष नेताहरू आन्तरिक छलफल गरेर फेरि बालुवाटार गएका हुन् ।

उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, नेताहरू कृष्णप्रसाद सिटौला, ज्ञानेन्द्रबहादुर कार्की बालुवाटार पुगेका छन् । यसअघि बिहान प्रधानमन्त्री प्रचण्डको आमन्त्रणमा बसेको बैठकमा कांग्रेस उपसभापति खड्का, महामन्त्री थापा, सहमहामन्त्री परियार, नेताद्वय सिटौला र कार्की बालुवाटार पुगेका थिए ।

सत्ता साझेदार एमालेबाट कानुनमन्त्री पदम गिरी, प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादीका तर्फबाट अर्थमन्त्री वर्षमान पुन, प्रमुख सचेतक हितराज पाण्डे, रास्वपाबाट उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, उपसभापति डा। स्वर्णिम वाग्ले र प्रमुख सचेतक सन्तोष परियार पनि बालुवाटारमा थिए ।

बिहानको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी कांग्रेस र सत्ता पक्षीय दलका नेताहरुसँग संसदीय समिति गठनका लागि भइरहेको प्रयास, सहमति जुट्न नसक्नुको कारण आदिबारे छलफल गरेका थिए । प्रधानमन्त्रीसहित सत्तापक्षका शीर्ष नेताहरुसँगको बिहानको छलफलमा कांग्रेस लचिलो भएर प्रस्तुत भएको सहमहामन्त्री तथा कार्यदल सदस्य परियारले जानकारी दिएका थिए ।