३० कार्तिक २०८१, शुक्रबार 1731679655
Banner

अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प ३४ मुद्दामा दोषी ठहर

बीबीसी । अमेरिकी पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प एउटा ऐतिहासिक फौजदारी सुनुवाइका क्रममा व्यावसायिक अभिलेखहरुमा किर्ते गरेको ३४ वटा कसुरमा दोषी ठहर भएका छन्। भूतपूर्व वा पदमा बहाल रहेका अमेरिकी राष्ट्रपति कुनै पनि अपराधमा दोषी ठहर भएको यो पहिलो घटना हो।

उनी विरूद्ध ११ जुलाईमा सजाय सुनाइनेछ। ट्रम्पलाई जेल सजाय पनि हुन सक्छ तर कानुनविद्हरूले उनलाई सजाय हुने सम्भावना बढी रहेको बताएका छन्। ट्रम्पले यो आदेशलाई ‘कलङ्क’ भन्दै उक्त मुद्दा हेर्ने निकायको अध्यक्षता गरेका न्यायाधीश मर्चनको आलोचना गरेका छन्। राष्ट्रपति बाइडनलाई आगामी नोभेम्बरमा हुने चुनावमा पराजित गरेर व्हाइट हाउसमा फर्कन ट्रम्पले अभियान चलाइरहँदा यो आदेश आएको हो।

अदालतले २२ जना प्रत्यक्षदर्शीसँग ६ हप्ता बयान लिएको थियो। बयान दिनेमा ट्रम्पले यौन सम्बन्ध राखेको भनिएकी र सन् २०१६ को चुनावअघि ‘चुप बस्न’ रकम दिइएको भनिएको पोर्नस्टार स्टोर्मी ड्यान्यल्स पनि थिइन्। ट्रम्पका एकजना उच्च तहका अधिवक्ताले फक्स न्यूजलाई बताए अनुसार पूर्वराष्ट्रपतिको कानूनी टीमले पुनरावेदनका लागि “सबै उपायमाथि छलफल” गरिरहेको छ।

ट्रम्प रिपब्लिकन पार्टीका तर्फबाट आगामी चुनावमा राष्ट्रपतिका उम्मेदवार हुन्। उनी दोषी ठहर भएपनि चुनाव लड्न पाउँछन्। अमेरिकामा जेलभित्रै बसेर पनि चुनाव लड्न पाउने व्यवस्था छ।