२८ जेष्ठ २०८३, बिहिबार 1781191988
Banner

भ्रष्टाचार मुद्दामा दोषी अधिकृतलाई जनही आठ वर्ष कैद र साढे दुई करोड जरिवाना

काठमाडौँ स् भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका ५ जना तत्कालीन मालपोत अधिकृतसहित ५ जनालाई दुइदेखि ८ वर्षसम्म कैद सजाय हुने फैसला भएको छ। विशेष अदालतले ३ जनालाई ८ वर्ष, एकजनालाई ४ र अर्का एकजनालाई २ वर्ष कैद सजाय तोकिएको हो।

विशेष अदालतले आज मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भुपबहादुर बोगटी र कम्प्युटर अधिकृत कुमोद तिवारीलाई ८ वर्ष कैदसहित जनही २ करोड ५० लाख २३ हजार ९८१ रुपैयाँ जरिवाना हुने फैसला गरेको हो।

यस्तै, अर्का तत्कालीन मालपोत अधिकृत गोपालबहादुर ढुंगानालाई ४ वर्ष कैदसहित ७० लाख ९१ हजार ९ सय रुपैयाँ जरिवाना तथा पदमप्रसाद अर्याललाई दुई वर्ष कैद र ३३ लाख ६३ हजार २ सय रुपैयाँ जरिवाना हुने फैसला भएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

मालपोत कार्यालय पर्सामा कार्यरत रहँदा उनीहरूले मिलेमतोमा जग्गाको लिखत पास गर्दा प्राप्त भएको राजश्व रकममध्ये ११ करोड १० लाख ३९ हजार ९ सय ५० रुपैयाँ राजश्व सरकारी खातामा दाखिला नगरी आफैँ अपचलन गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो।

उक्त आरोपपत्रमाथि अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायधीशहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको संयुक्त इजलासले गत जेठ २८ गते ६ जना तत्कालीन मालपोत अधिकृतहरूलाई दोषी ठहर गरी सजाय निर्धारण गर्न आजको पेशी तोकेको थियो।