२ जेष्ठ २०८३, शनिबार 1778918933
Banner

उपमहासचिव विष्णु रिमालको नेतृत्वमा एमालेका यी नेता आज चीन जाँदै

काठमाडौं । उपमहासचिव विष्णु रिमालको नेतृत्वमा नेकपा एमालेका नेताहरू आज चीन जाने भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणमा एमाले नेताहरू आज राति चीन भ्रमणमा जान लागेका हुन्।

भ्रमण टोलीमा ३० जना एमाले नेताहरु जाँदै हुनुहुन्छ। ‘मैत्रीपूर्ण सद्‌भावना भ्रमण मध्येकै यो एउटा हो। भ्रमणमा समृद्ध चीन बनाउन गरिएका प्रयत्नहरू हेर्नेछौं,’ टोलीको सदस्य रहेका नेता भानुभक्त ढकालले भन्नुभयो।

उहाँका अनुसार बेइजिङको भीड घटाउन बनाइएको होइड्रोलिक सिटीको अवलोकन भ्रमणको अर्को उद्देश्य हो। ढकालले भन्नुभयो, ‘हामीले पनि समृद्ध नेपाल, सुखी नेपाली भनिरहेका छौं। त्यो सिटीको अवलोकनले हामीलाई सहयोग पुग्छ।’ टोलीले चीनको बेइजिगसहित विभिन्न प्रान्तको भ्रमण गर्नेछ ।

भ्रमण दलमा रिमालसहित नेता भानुभक्त ढकाल, विनोद श्रेष्ठ, सुजिता शाक्य, इन्दिरादेवी गौतम, लालबहादुर थापा, नागेन्द्र शाही, जीवन गौतम, सांसदहरू महेश बस्नेत, सरस्वती सुब्बा, मधेस प्रदेश अध्यक्ष चन्द्रेश्वर मण्डल, श्रीप्रसाद श्रेष्ठ, घनश्याम सुवेदी, पेम्वा लामा, प्रेम दंगाललगायत रहेका छन् ।