२३ कार्तिक २०८१, शुक्रबार 1731105734
Banner

एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आजदेखि

काठमाडौँ– नेकपा एकीकृत समाजवादीको दशौँ राष्ट्रिय महाधिवेशन आज सुरु हुँदैछ । महाधिवेशनको पार्टी अध्यक्ष माधवकुमार नेपालले काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गर्ने कार्यक्रम रहेको ।

महाधिवेशन सुरु हुनुअघि बिहान ११ बजे भृकुटीमण्डपबाट र्‍याली निस्कने पार्टीले जनाएको छ । असार २० गतेसम्म चल्ने अधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । महाधिवेशनमा देशभरबाट एक हजार ८४९ प्रतिनिधि सहभागी हुँदैछन् । ती प्रतिनिधिले २९९ सदस्यीय केन्द्रीय समिति तथा २१ पदाधिकारीको चयन गर्ने छ ।

पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको जनाइएको छ।

महाधिवेशनस्थल आसपासमा महाधिवेशन प्रतिनिधिहरूलाई आवासको व्यवस्था मिलाइएको जनाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ । करिब तीन वर्षअघि एमालेबाट विभाजित भएर गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई एमालेकै निरन्तरताको रूपमा दशौँ राष्ट्रिय महाधिवेशनका रूपमा दाबी गरेको छ । अध्यक्षका लागि वर्तमान अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबी गरेका छन् ।