३१ भाद्र २०८१, सोमबार 1726534272
Banner

सिद्धार्थ राजमार्ग आजदेखि राति बन्द हुने

पाल्पा । सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डको हिउँदे खोला नजिक सडक भासिएपछि रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ । पानी पर्नासाथ सडक भासिन थालेपछि आज बेलुका ७ बजेदेखि बिहान ६ बजेसम्म दैनिक ११ घण्टा सवारी आवागमनमा रोक लगाइएको हो ।

जिल्ला प्रशासन कार्यलयले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सवारी संचालनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले जानकारी दिनुभयो । गत आइतबार बेलुकादेखि सडक भासिन थालेपछि सवारी आवगमनमा हुँदै आएको छ । सो क्षेत्रमा झन्डै ५० मिटर लम्बाईमा र बाटो मुनी दुई मिटर बढी सडक भासिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिनुभयो ।

कमजोर भूगोल भएका कारण बाटोमुनीको भागबाट दैनिक रुपमा सडक भासिने क्रम रहेको हुँदा एकतफी रुपमा सवारी संचालन गर्नसमेत समस्या हुादै आएको उहाँले बताउनुभयो । सडक भासिएर राजमार्ग पूर्ण रुपमा सञ्चालन हुन नसक्दा पाल्पा बुटवलसंगै सुनौली पोखरा र गुल्मी, अर्घाखाँची, बाग्लुङसम्मको यात्रा गर्ने यात्रुले सास्ती खेप्नुपर्ने बाध्यता रहेको छ ।