३ आश्विन २०८१, बिहिबार 1726732668
Uncategorized

प्रेस चौतारीले स्थापना गर्यो ५० हजार राशीको राष्ट्रिय महिला पत्रकारिता पुरस्कार

पोखरा – प्रेस चौतारी नेपालले राष्ट्रिय महिला पत्रकारिता पुरस्कार कोष स्थापना गरेको छ । नेपालकै चर्चित उद्योगी तथा पूर्वमन्त्री हरिप्रसाद पाण्डे र उहाँकी पत्नीले स्थापना गर्नुभएको मातृसेवा प्रतिष्ठानको सहयोगमा प्रेस चौतारी राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापनासहित कोष स्थापना गरिएको हो ।

पुरस्कारको राशी ५० हजार १ सय ११ रुपैयाँ रहेको छ । सो पुरस्कारको नाम डा. शान्ति पाण्डे स्मृति महिला पत्रकारिता पुरस्कार रहेको छ । पुरस्कारको अक्षयकोष स्थापनाका लागि पोखरामा आज आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष पाण्डे र प्रेस चौतारी नेपालका तर्फबाट अध्यक्ष गणेश बस्नेतले संझौतापत्रमा हस्ताक्षर गर्नुभयो । संझौता पत्रमा पाण्डेकी पत्नी तथा सो संस्थापकी उपाध्यक्ष तुलसी पाण्डे र प्रेस चौतारी नेपाल केन्द्रीय महिला बिभाग प्रमुख जमुना बर्षा शर्माले पनि हस्ताक्षर गर्नुभएको छ ।

प्रेस चौतारी नेपालले प्रत्येक बर्षको माघ २२ गते प्रदान गर्ने सो पुरस्कार महिला बिभागको पहिलमा स्थापना गरिएको हो । पुरस्कार प्रदान गर्नका लागि पाण्डे परिवारले ५ लाख रुपैयाँको चेक प्रेस चौतारी नेपाललाई हस्तान्तरण गरेको छ भने १० बर्षसम्म प्रत्येक बर्ष ५ हजार १ सय ११ रुपैया प्रदान गर्नेछ । आज आयोजित कार्यक्रममा उपलब्ध गराइएको चेक मुद्धती खातामा राखेर १० बर्षसम्म ब्याजसमेत जम्मा गरी त्यसपछि ब्याजबाट प्रत्येक बर्ष एक जना महिला पत्रकारलाई ५० हजार १ सय ११ रुपैयाँको पुरस्कार प्रदान गरिने प्रेस चौतारी महिला बिभाग प्रमुख शर्माले जानकारी दिनुभयो ।

उद्योगपति पाण्डेले आफ्नी साइली छोरी डा। शान्ति पाण्डेको नाममा सो पुरस्कार स्थापना गर्न प्रेस चौतारी नेपाललाई अक्षयकोषका लागि रकम हस्तान्तरण गर्नुभएको हो । उहाँकी छोरी डा। पाण्डेको २०६१ असार ४ गते पोखरामा स्कुटर दुर्घटनामा परी निधन भएका थियो । दुर्घटनामा ज्यान गुमाएकी छोरी शान्तिको स्मृतिका लागि देशभर कार्यरत महिला पत्रकारमध्ये उत्कृष्ट एक जनालाई राष्ट्रिय महिला पत्रकारिता पुरस्कार प्रदान गर्न प्रेस चौतारीलाई सहयोग गर्नुभएको हो ।

उद्योगपति पाण्डे २०५१ सालमा गठित नेपालको पहिलो जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारमा उद्योग राज्यमन्त्री हुनुहुन्थ्यो । सफल उद्योगपतिको रुपमा स्थापित पाण्डेले आफू र परिवारले प्रेस चौतारीले आफूहरुको भावनाको कदर गरी पुरस्कारलाई निरन्तरता दिने बिश्वाससहित अक्षयकोष स्थापनाका लागि सहयोग गरेको बताउनु भयो । छोरी शान्तिको जन्मदिनकै अवसर पारेर उहाँले आज प्रेस चौतारी नेपाललाई अक्षयकोष स्थापनाका लागि ५ लाखको चेक हस्तान्तरणसहित १० बर्षसम्म आफूले उपलब्ध गराएको ५ लाखको ब्याज पनि बैंकमा जम्मा हुने गरी प्रत्येक बर्ष पुरस्कारको राशी आफूहरुले उपलब्ध गराउने जानकारी दिनुभयो ।